समता सम्सबादाता |
सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दिया टोलमा मंगलबार दिउँसो पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आश्की चौधरी रहेका छन्। उनीहरू दिउँसो करिब ६ :३० बजेतिर घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका हुन्।
घटनाको समयमा उनीहरूको साथमा रहेकी ९ वर्षीया प्रियान्सु चौधरीले घरमा गई खबर गरेपछि परिवारजन र स्थानीयले खोजी गरेका थिए। खोजतलासका क्रममा उनीहरूलाई पोखरीमै डुबेको अवस्थामा भेटेर बाहिर निकालिएको थियो। तर, स्वास्थ्य संस्थामा पुर्याउनुअघि नै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गाउँ शोकमग्न बनेको छ। दुई बालिकाको मृत्यु भएको खबरले स्थानीय अभिभावक आत्तिएका छन्। बालबालिकालाई एक्लै पोखरीमा जान नदिन र सावधानी अपनाउनुपर्ने भन्दै प्रहरीले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

