रुबी देवी साह हत्याको अभियुक्त पासवानले गरे आत्महत्याको प्रयास

समता खबर सम्बादाता ।
रौतहट, ११ भदौ । रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरमा ३० वर्षीया रुबी देवी साहको सुटकेस भित्र मृत अवस्थामा भेटिएको घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले आत्महत्याको प्रयास गरेका छन् ।


प्रहरीका अनुसार पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन्, जसमा उनको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । उनलाई तत्कालै थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता रुद्र कँडेलले जानकारी दिएका छन् ।


यो घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रुबी देवी साह र लक्ष्मण पासवान पूर्व–प्रेमी–प्रेमिका रहेको र उनीहरूको सम्बन्धकै कारण उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।


बिहान जलेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले पासवानलाई तत्कालै उपचारको लागि गरुडास्थित बेटर अस्पताल लगिएको थियो ।


“पूरै शरीर जलेर गम्भिर घाइते पासवानलाई बोल्न सक्ने अबस्थामा छैन, उनी मुन्टो मात्र हल्लाउँछन्, पूरै अनुहार डढेको छ”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।


स्थानीय स्रोतका अनुसार, रुबी देवी र लक्ष्मणबीच केही समय देखि सम्बन्धमा खटपट चलिरहेको थियो । रुबीका परिवारले पासवान विरुद्ध यसअघि नै उजुरी दिएका थिए भन्ने कुरा पनि बाहिर आएको छ । यद्यपि, प्रहरीले यस विषयमा थप पुष्टि गरेको छैन ।


प्रहरी उपरीक्षक (एसपी) नेत्रमणी गिरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताएका छन् । उनले,“हत्याको वास्तविक कारण पत्ता लगाउन प्रमाणहरू संकलन गरिरहेको छौं ”। उनको अनुसार यो घटना प्रेम सम्बन्धसँग जोडिएको र थप जानकारी अनुसन्धान पछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *