समता खवर
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ ।
बोर्डका अनुसार २०८३ वैशाख १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्य विद्युतीय प्रणालीमार्फत गर्न सकिने व्यवस्था लागू गरिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा विद्युतीय प्रणालीको अन्तिम तयारी तथा कार्यान्वयनसम्बन्धी आवश्यक काम सम्पन्न गरिएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले तयार पारेको ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको हो । प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरिएको बोर्डले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले समेत आवश्यक विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गरी स्वास्थ्य बीमासम्बन्धी सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउन तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसअघि स्वास्थ्य बीमा गराइसकेका परिवारले आफ्नो स्वास्थ्य बीमा नम्बरमार्फत प्रणालीमा जोडिएर आवश्यक विवरण अद्यावधिक तथा नवीकरण गर्न सक्नेछन् ।
स्वास्थ्य बीमाको प्रिमियम रकम विद्युतीय भुक्तानी सेवामार्फत समेत तिर्न सकिने व्यवस्था गरिएको छ । यसले स्वास्थ्य बीमा नवीकरणका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता घटाउने तथा सेवाग्राहीको समय र खर्च बचत गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी कार्यालय वा संगठित क्षेत्रबाट एकैपटक धेरै व्यक्तिको स्वास्थ्य बीमा आबद्धता तथा नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । जिल्ला तथा प्रदेश तहबाट प्रमाणीकरण तथा स्वीकृतिको व्यवस्था गरिएको र स्वीकृति प्राप्त भएपछि विद्युतीय स्वास्थ्य बीमा कार्ड जारी हुने बोर्डले जनाएको छ ।
विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै स्वास्थ्य बीमा सेवामा पारदर्शिता बढ्नुका साथै बीमितको विवरण थप व्यवस्थित र अद्यावधिक हुने बोर्डको विश्वास छ । साथै, बीमितको पुरानो विवरण अद्यावधिक गर्न तथा तथ्यांकको शुद्धता कायम गर्नसमेत यस प्रणालीले सहयोग पुग्ने जनाइएको छ ।
नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणाअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने प्रक्रियामा यो व्यवस्था महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

