समता खवर संवाददाता
सप्तरी, २५ असोज। सप्तरीको सुरुङ्गा नगरपालिका–७, बसानपट्टी पोखरियामा वडा अध्यक्ष तेस्रो कप खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
डिहबार बाबा युवा क्लबको आयोजनामा असोज २६ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल असोज ३० गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा आठ टिम सहभागी हुँदैछन्। प्रतियोगिताको विजेता टिमले ५१ हजार ५ रुपैयाँ र उपविजेता टिमले ३५ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा समूह ‘क’ अन्तर्गत मधेश प्रदेश भलिबल टिम जनकपुरधाम, छिन्नमस्ता सशस्त्र प्रहरी बल बर्दिबास, सिंगराही सामुदायिक युवा क्लब लहान र आयोजक डिहबार बाबा युवा क्लब सहभागी हुनेछन्। त्यस्तै, समूह ‘ख’ मा जागृति समाज युवा क्लब सप्तरी, श्री जनता उच्च माध्यमिक विद्यालय देउरी उदयपुर, विराट खेलकुद क्लब विराटनगर र रामधुनी नगरपालिका झुम्का सुनसरी रहेका छन्।
असोज २६ गते हुने उद्घाटन खेलमा मधेश प्रदेश भलिबल टिम जनकपुरधाम र छिन्नमस्ता सशस्त्र प्रहरी बल बर्दिबासबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
सुरुङ्गा नगरपालिका–७ को प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता हरिपुर योगा भवन, पोखरिया, सप्तरीमा आयोजना हुनेछ।
आयोजकले खेलप्रेमी, खेलाडी तथा आम नागरिकलाई प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाउन आग्रह गरेको छ। प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

