समता खवर संवाददाता
सप्तरी, ७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–८, टिकुलियामा दुर्गा पूजा मूर्ति विसर्जन गरी घर फर्किने क्रममा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न विभिन्न संघसंस्थाले माग गरेका छन्।
जन चेतना दलित संगम र सुरुङ्गा युथले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। दुवै संस्थाले महिलामाथि हुने यौन हिंसा मानव अधिकार र महिला सुरक्षामाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेका हुन्।
जन चेतना दलित संगमले पीडित महिला तथा उनको परिवारको सुरक्षा सुनिश्चित गर्न, धम्की, दबाब र प्रलोभनबाट संरक्षण दिन तथा जातीय विभेद र लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
त्यस्तै, सुरुङ्गा युथले पीडितको गोपनीयता, आत्मसम्मान र न्यायको अधिकारको रक्षा गर्न माग गर्दै घटनालाई जातीय तथा लैङ्गिक विभेदको दृष्टिकोणबाट समेत संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने जनाएको छ। संस्थाले पीडितलाई आवश्यक मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र कानुनी सहायता उपलब्ध गराउन पनि आग्रह गरेको छ।
दुवै संस्थाले अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नहुने र निर्दोष व्यक्तिलाई अनावश्यक आरोपित गर्न पनि नहुने स्पष्ट पार्दै निष्पक्ष अनुसन्धान तथा कानुनी प्रक्रियामार्फत न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
महिलामाथि हुने हिंसा, बलात्कार र जातीय विभेद अन्त्य गर्न राज्यका निकाय, नागरिक समाज तथा स्थानीय समुदाय जिम्मेवार र सक्रिय हुनुपर्नेमा दुवै संस्थाले जोड दिएका छन्।

