रौतहटमा युवतीको हत्या, मुख्य आरोपी फरार

रौतहट । जिल्लाको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या भएको घटना सार्वजनिक भएको छ। उनी गौर नगरपालिका–५ स्थित एक घरमा हत्या गरिएको खुलेको छ।

प्रहरी अनुसन्धान अनुसार, सो घरमा डेरा गरी बस्ने माधवपुर निवासी लक्ष्मण पासवानले हत्यापछि शव व्यवस्थापन गर्ने प्रयास गरेका थिए। पासवानले शवसहितको सुटकेस लिएर गौरको कबिर चोकबाट एक ई–रिक्सा बुक गरेका थिए। उनी बरहवा पुलसम्म पुगे पनि त्यस क्रममा ई–रिक्सा बिग्रिएपछि योजना विफल भएको प्रहरीले जनाएको छ।

रिक्सा चालक राजकुमार महराले प्रहरीलाई दिएको बयानअनुसार, अर्को रिक्सा बोलाउन खोज्दा पासवानले इन्कार गर्दै सुटकेस बोकेर पैदलै अघि बढेका थिए।

घटनापछि अनुसन्धान टोलीले गौर–५ स्थित बालमन्दिर पछाडिको पासवानको डेराबाट रुबीकुमारीको चप्पलसहित केही सामग्री फेला पारेको छ। हाल आरोपी पासवान सम्पर्कविहीन भएकाले उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *