समता खवर सम्बादाता ।
सप्तरी, ६ कार्तिक । दुर्गा पूजाको मूर्ति विसर्जन गरेर घर फर्किँदै गरेकी २५ वर्षीया एक दलित महिलामाथि सप्तरीको सुरुङ्गा नगरपालिका–९ टिकुलियामा सामूहिक बलात्कार भएको छ ।
बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसा नजिकैको आँपको बगानमा उक्त घटना भएको हो। घटनामा संलग्न तीन जना स्थानीय युवकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी जाहेरी परेको छ पिडित परिवारले जनाएको छ ।
गाउँमा आयोजित दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि बलान नदी लगिएको थियो । मुर्ति विसर्जनपछि ट्याक्टरमा फर्किने क्रममा इन्धन (डिजेल) सकिएर गाडी बाटोमै रोकिएपछि ती महिला एक्लै पैदल घरतर्फ जाँदै थिइन् । सोही क्रममा बाटो छेउमा बसिरहेका तीन जना युवकहरूले नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगानमा पु¥याएर पालैपालो करणी गरेको पिडितको जाहेरीमा उल्लेख छ ।
आरोपितहरूले धाकधम्की दिँदै जबरजस्ती करणी गरेपछि पीडितलाई घटनास्थलमै बेहोस अवस्थामा छाडेर फरार भएका थिए । अबेरसम्म घर नपुगेपछि खोजतलास गर्दै आएका स्थानीयवासी र आफन्तले उनलाई घटनास्थलबाट उद्धार गरेका पिडित महिलाले बताएकी छिन् ।
घटनालगत्तै स्थानिय नेताहरुले घटनालाई थामथुम पार्न पिडित परिवारलाई बिभिन्न प्रलोभन दिदै आएको श्रोतले बताए । तर पनि पिडितले बिहिबार करिव ५ बजे ईलाका प्रहरी कार्यालय कडरवोनामा जाहेरी बुझाएका थिए ।
यता, घटना सम्बन्धमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी जाहेरी दिएको जनाउँदै घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्काको काम अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।
प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रुपक खड्काका अनुसार घटनामा संलग्न संदिग्ध युवकहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । अनुसन्धान प्रभावित हुन नदिन र आरोपीहरू भाग्न नपाऊन् भनेर प्रहरीले थप विवरण गोप्य राखी सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

