जन्मकैदको सजाय पाईरहेकी महिला कारागारमा मृत फेला

समता खबर सम्बादाता ।
बिराटनगर, ११ भदौ । विराटनगर स्थित जिल्ला कारागार मोरङमा एक जना महिला कैदी मृत फेला परेकी छिन् । कारागार भित्र रहेका महिला भवनको शौचालयमा बुधबार बिहान झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको हो ।


मृतक सुनसरीको बराहक्षेत्र नगरपालिका–६ कि ३२ वर्षीया राधा भट्टराई रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिएका छन् । आज बिहान साढे ४ बजेतिर शौचालय भित्र झुन्डिएको र मृत अवस्थामा फेला परेको ढुंगेलले बताएका छन् । उनका अनुसार शौचालयको ढोकाको चुक्कुल पनि भित्रबाट लगाइ झुन्डिएको अवस्थामा शव फेला परेको हो।


घटना लगतै मृतकका आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकेको र उनीहरू आएपछि आबश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका बिराटनगर स्थित कोशी अञ्चल अस्पताल लगिएको थियो । पोष्टमार्टम पश्चात शवलाई परिवारको जिम्मा लगाई सकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिएकी छिन् ।


प्रहरी प्रवक्ता डिएसपी चुँडालका अनुसार घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको जस्तो देखिएको छ । उनले घटनाको थप अनुसन्धान सुरु भइसकेको र पोस्टमार्टमको रिपोर्ट आएपछि यथार्थ कुरा आउने बताएकि छिन । उनले मृतक भट्टराईमा पहिलेदेखि नै ‘डिप्रेसन’ को समस्या रहेको पाइएको जनाएकी छिन् ।


भट्टराईले २०८० माघ पहिलो साता २ सन्तान (छोरा र छोरी) सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन् । उनी हामफालेको देख्ना साथ प्रत्यक्षदर्शिहरुले उनहरुलाई निकालेका थिए । सोही बेला उनको करिब ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो ।


सोही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गरी उनीविरुद्ध सुनसरी अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २३ गते आदेश दिए पछि कारागार चलान भएकी थिइन् ।


जेलर ढुंगेलका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै भट्टराईलाई २०८१ साल कात्तिक ७ गते अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । फैसला अनुसार उनी जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *