अग्नीसाइर कृष्णासरवन गापामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

समता सम्बादाता ।

महुली, ८ असोज। सप्तरीको अग्नीसाइर कृष्णासरवन गाउँपालिकामा प्रशासनिक विवाद बढ्दै गएको छ। बुधबार असन्तुष्ट कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा तालाबन्दी गर्दै कार्यालय अगाडि धर्ना सुरु गरेका छन्।

कर्मचारीहरुले कनिष्ठ तहका अधिकृतलाई नेतृत्व दिइएको भन्दै आपत्ति जनाउँदै वरिष्ठताको आधारमा जिम्मेवारी तोक्नुपर्ने माग गरेका छन्। यसैका लागि उनीहरुले संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन्।

कर्मचारीहरुले सार्वजनिक गरेका ११ बुँदे मागमा मौजुदा ऐन–कानून बमोजिम वरिष्ठताको आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्नुपर्ने, अन्य स्थानीय तहबाट सरुवा भएर आएका र जगेडामा रहेका कर्मचारीलाई तत्काल उचित व्यवस्थापन गर्नुपर्ने र फरक सेवा समूहका कर्मचारीलाई तोकिएको भन्दा फरक जिम्मेवारीमा खटाइएको अवस्थाको अन्त्य गरी तोकिएको स्थानमै कामकाज गर्न लगाउनुपर्ने विषयहरू समावेश छन्।

त्यसैगरी, कर्मचारीलाई आफ्नो दरबन्दीअनुसारको कार्यस्थलमै खटाउने व्यवस्था मिलाउनुपर्ने, एक कर्मचारीलाई एक शाखा वा जिम्मेवारी मात्र दिने व्यवस्था गर्नुपर्ने र गाउँपालिका परिषद्को ढिलाइका कारण रोकिएको तलब–भत्ता तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।

मागपत्रमा इ–हाजिरी प्रणाली लागू गरी मासिक प्रतिवेदनको आधारमा भुक्तानी सुनिश्चित गर्नुपर्ने, करार कर्मचारीलाई महंगी भत्ता उपलब्ध गराउनुपर्ने, सेवासुविधामा पारदर्शिता कायम गर्नुपर्ने, सहज कार्य वातावरण निर्माण गर्नुपर्ने र पूर्वाधार निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्नुपर्ने समेत माग गरेका छन्।

कार्यकक्षमा तालाबन्दी गरेपछि कर्मचारीहरुले गाउँपालिका कार्यालय अगाडि त्रीपाल ओढेर धर्ना दिएका छन्। उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्। आन्दोलनरत कर्मचारीहरुको भनाइ अनुसार “ऐन–कानून विपरीत कनिष्ठलाई जिम्मेवारी तोकिएकाले हामी बाध्य भएर तालाबन्दी र धर्नामा उत्रिएका हौं।”

घटनाबारे गाउँपालिका प्रशासनले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। तर आन्दोलनरत कर्मचारीहरुले तत्काल वार्ता गरी माग सम्बोधन नगरे आन्दोलन अझ कडा पार्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *