समता खवर संवाददाता
सप्तरी,५ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित विष्णुपुर चौकमा चक्कु प्रहारबाट ३७ वर्षीय श्याम अवतार यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रविनकुमार मण्डललाई पक्राउ गरेको छ।
प्राप्त विवरणअनुसार, बुधबार साँझ करिब ६:३० बजे सार्वजनिक स्थानमा गाँजा काटिरहेको देखेपछि स्थानीय रामअवतार यादवले मण्डललाई सम्झाउने प्रयास गरेका थिए। सोही क्रममा विवाद उत्पन्न भएपछि चौकमा हिँडिरहेका श्याम अवतार यादवमाथि चक्कु प्रहार भएको पीडितले बताएका छन्।
चक्कु प्रहारबाट यादवको पेट र बायाँ पाखुरामा चोट लागेको छ। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार, घटनामा संलग्न रहेको आरोपमा मण्डललाई घटनास्थलबाटै पक्राउ गरिएको हो। घटनाको कारण र वास्तविक अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सार्वजनिक स्थानमा भएको यस घटनाले स्थानीय क्षेत्रमा शान्तिसुरक्षा र नागरिकको सुरक्षाबारे चासो बढाएको छ।

