मोहियानी जग्गा र बाख्रा चोरीको आरोपमा रामकुमारलाई बाँधेर गाउँ घुमाएको आरोप।

रामनाथ राम

राजविराज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१३, विसहरियाका रामकुमार रामलाई मोहियानी जग्गा रोक्का तथा बाख्रा चोरीको आरोप लगाउँदै घरबाट टाढा लगेर कुटपिट गर्नुका साथै हातखुट्टा बाँधेर सार्वजनिक रूपमा अपमान गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ।
पीडित रामकुमार रामको भनाइअनुसार २०८३ साल आसिन १० गते बिहान स्थानीय दिवश यादव, जयनारायण यादव, जिवछ यादव, चन्द्रिका प्रसाद यादव, लडु राम, लालित राम र रामनाथ रामले उनलाई घरबाट नियन्त्रणमा लिई विसहरियास्थित भगवती गहबरको प्राङ्गणमा लगेका थिए।
पीडित पक्षका अनुसार त्यहाँ रामकुमारका हातखुट्टा बाँधेर टाउकोमा चुनाको टीका लगाइएको, घाँटीमा जुत्ता–चप्पल तथा रोटी पकाउने खपडीको माला लगाइएको र थाल बजाउँदै गाउँ घुमाइएको थियो। त्यस क्रममा उनीमाथि कुटपिटसमेत गरिएको आरोप छ।


पीडितका अनुसार त्यसपछि पनि उनीमाथि कुटपिट रोकिएन। जुत्ता–चप्पल र खपडीको माला लगाएर गाउँ घुमाइसकेपछि उनलाई पुनः उल्टो बाँधेर केही समय बन्धक बनाएर राखिएको आरोप छ।
‘आरोप लाग्दैमा सजाय दिने अधिकार कसलाई?’
बाख्रा चोरी वा मोहियानी जग्गासम्बन्धी कुनै विवाद भएको भए त्यसको अनुसन्धान गर्ने र दोषी वा निर्दोष छुट्याउने अधिकार राज्यका सम्बन्धित निकायलाई हुन्छ। कुनै व्यक्तिलाई चोरीको आरोप लगाउँदै आफैं नियन्त्रणमा लिने, कुटपिट गर्ने, हातखुट्टा बाँध्ने, सार्वजनिक रूपमा अपमान गर्ने वा बन्धक बनाउने कार्य कानुनी न्याय प्रक्रियाको विकल्प बन्न सक्दैन।
नेपालको मुलुकी अपराध संहिता, २०७४ ले कसैलाई कुटपिट गर्न निषेध गरेको छ। संहिताको दफा १९१ ले शारीरिक पीडा पुर्‍याउने कार्यलाई कुटपिटका रूपमा परिभाषित गरेको छ। त्यस्तै, दफा १६८ ले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न निषेध गर्दै क्रूर, अमानवीय वा अपमानजन्य व्यवहारलाई समेत कसूरको दायरामा राखेको छ।
त्यसैगरी, कसैलाई नियन्त्रणमा लिएर यातना दिने वा गैरकानुनी रूपमा बन्धक बनाउने कार्यको प्रकृति हेरी मुलुकी अपराध संहिताका शरीर बन्धकसम्बन्धी व्यवस्थासमेत आकर्षित हुन सक्ने देखिन्छ। अन्तिम रूपमा कुन-कुन दफा लागू हुन्छ भन्ने कुरा घटनाको प्रमाण, अनुसन्धान र अभियोजनका आधारमा सम्बन्धित निकाय तथा अदालतले निर्धारण गर्ने विषय हो।
मानव अधिकारको गम्भीर प्रश्न
कुनै व्यक्तिमाथि आरोप लागेको अवस्थामा पनि उसको मानवीय मर्यादा समाप्त हुँदैन। हातखुट्टा बाँधेर गाउँ डुलाउनु, जुत्ता–चप्पलको माला लगाउनु, सार्वजनिक रूपमा अपमान गर्नु र कुटपिट गर्नु मानव मर्यादा तथा सम्मानको गम्भीर प्रश्नसँग जोडिन्छ।
यातना तथा क्रूर, अमानवीय वा अपमानजनक व्यवहारविरुद्ध नेपालले अन्तर्राष्ट्रिय महासन्धिसमेत स्वीकार गरेको छ।
यस घटनाले गाउँघरमा अझै पनि ‘आरोप लगाउने, आफैं फैसला गर्ने र आफैं सजाय दिने’ प्रवृत्ति कायम छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको छ। कुनै व्यक्तिले चोरी गरेको हो भने प्रहरीमा उजुरी दिने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाबाट दोषी प्रमाणित गराउने बाटो हुँदाहुँदै भीड वा व्यक्तिको समूहले आफैं न्यायाधीश र सजाय दिने अधिकार लिनु कानुनी शासनको मूल अवधारणासँग मेल खाँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *