सुरुङ्गा युवाहरूको नगरप्रमुखलाई ज्ञापनपत्र, ३० बुँदे माग प्रस्तुत

शम्भु पासवान

मधुपट्टी, सुरुङ्गा (सप्तरी), कार्तिक १४, २०८२। सुरुङ्गा नगरपालिकाको समग्र सुधार, पारदर्शिता र सुशासनको माग गर्दै “सुरुङ्गा युथ” नामक स्वतन्त्र र गैरराजनीतिक युवा समूहले आज सुरुङ्गा नगरपालिकाका नगरप्रमुखलाई ३० बुँदे ज्ञापनपत्र बुझाएको छ।

“नयाँ सोच, नयाँ ऊर्जा, विकासका लागि प्रतिबद्ध प्रणालीगत परिवर्तन” भन्ने नाराका साथ सक्रिय रहेको समूहले भ्रष्टाचार, नातावाद, कृपावाद र बिचौलिया संस्कृतिको अन्त्य गर्दै पारदर्शी र जवाफदेही पालिका बनाउने माग अघि सारेका छन्।

सुरुङ्गा युथका प्रतिनिधिहरूले आज पालिकाको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्। समूहका अनुसार, पालिका स्थापना भएको दुई कार्यकाल बितिसक्दा पनि ठोस र भरपर्दो विकास नदेखिनु, राजस्व छलीका घटनाहरू तथा जनतामाझ पालिकाप्रति विश्वास संकट गहिरिँदै गएको कारण उनीहरूलाई यस्तो कदम चाल्न बाध्य बनाएको हो।

मुख्य मागहरू:

  • पालिकाभित्रको भ्रष्टाचार, नातावाद र बिचौलिया प्रथाको अन्त्य गरी दोषीमाथि कारबाही।
  • किसानका लागि वितरण गरिने मलखाद र बिउविजनमा भएको अनियमितताको छानबिन।
  • नदीजन्य पदार्थ ठेक्कामा भएको राजस्व छली प्रकरण सार्वजनिक गर्न।
  • LISA रिपोर्टमा देखाइएको “सर्वोत्तम नगर” परिणाम कागजी मात्र हो कि वास्तविक भन्ने स्पष्ट पार्न।
  • नक्कली सडक बत्ती, कृषि सामग्री खरिद, भ्रमण खर्च र इन्धन खर्चमा भएको अनियमितता छानबिन गर्न।
  • नगरभित्र शान्ति सुरक्षाका लागि नगर प्रहरीको प्रभावकारी प्रयोग।
  • निःशुल्क एम्बुलेन्स र वृद्ध–अशक्त नागरिकका लागि स्वास्थ्य सेवा।
  • नसा मुक्त सुरुङ्गा अभियान सञ्चालन।
  • आँप उद्योग र प्रशोधन केन्द्र स्थापना गर्दै “सुरुङ्गा – आँपको सहर” घोषणा।
  • नगरसभालाई सार्वजनिक र पारदर्शी बनाउन सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण (live) गर्ने।

युवा समूहले १५ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएको छ।

सुरुङ्गा युथका सदस्यहरूका अनुसार, उनीहरू अहिंसा र कानुनी राज्यमा विश्वास गर्ने सचेत युवाहरूको समूह हुन्, जसले सुशासनयुक्त, शिक्षित र समृद्ध नगर निर्माणको लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *