भारतमा निपाह भाइरसको जोखिम बढ्दै, नेपाल पनि उच्च सतर्कतामा

समता सम्बादाता ।

काठमाडौँ, १५ माघ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि यसको सम्भावित जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। खुला सीमा, दुवै देशबीचको आवतजावत र समान जैविक वातावरणका कारण नेपाल उच्च जोखिमको सूचीमा रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभए पनि जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाइएको छ। उहाँले विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको जानकारी दिनुभयो। शङ्कास्पद लक्षण देखिएका यात्रु तथा बिरामीको नमुना संकलन गरी परीक्षण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।

चमेरा, सुँगुर तथा अन्य घरेलु जनावर नेपालमा पनि व्यापक रूपमा रहेकाले निपाह भाइरसको जोखिम नेपालमा पनि उस्तै रहेको मन्त्रालयको भनाइ छ। सीमा क्षेत्रमा हेल्थ डेस्कलाई सक्रिय बनाइएको र प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्दै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको डा. बुढाथोकीले स्पष्ट पार्नुभयो। उहाँका अनुसार सम्भावित संक्रमण फैलिन नदिन प्रारम्भिक पहिचान र छिटो प्रतिक्रिया प्रणालीलाई प्राथमिकतामा राखिएको छ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस पशुबाट मानिसमा सर्ने अत्यन्तै गम्भीर प्रकृतिको जुनोटिक भाइरस हो। यो भाइरस विशेषगरी फलफूल खाने चमेरामा पाइने गर्छ र चमेराबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा सर्न सक्छ। साथै संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क, श्वासप्रश्वास, रगत, लार तथा दिसा–पिसाबको माध्यमबाट मानिसबाट मानिसमा समेत सर्ने पुष्टि भइसकेको छ।

संक्रमित चमेराले टोकेको वा छोडेको फलफूल सेवन गर्दा तथा संक्रमित पशुको संसर्गमा आएको खाद्य सामग्री प्रयोग गर्दा संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्। भाइरस शरीरमा प्रवेश गरेको चारदेखि चौध दिनभित्र लक्षण देखिन सुरु हुने र प्रारम्भिक चरणमा अन्य भाइरल रोगसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो अवस्थामा ढिलो पहिचान हुने गरेको डा. पुनको भनाइ छ।

निपाह भाइरसको संक्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, घाँटी दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ हुनेजस्ता लक्षण देखिन्छन्। समयमै उपचार नपाएमा २४ देखि ४८ घण्टाभित्र निमोनिया, मस्तिष्क सुन्निने समस्या देखिएर बिरामी अचेत हुने र मृत्यु समेत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म रहेको छ भने केही अध्ययनहरूमा यो मृत्युदर अझै उच्च देखिएको छ। हालसम्म निपाह भाइरसविरुद्ध कुनै निश्चित खोप वा प्रभावकारी औषधि उपलब्ध छैन र उपचार लक्षणको आधारमा मात्र गरिन्छ। त्यसैले संक्रमण हुन नदिनु नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।

स्वास्थ्य विशेषज्ञहरूले ज्वरो, खोकी वा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन र संक्रमितसँग नजिकको सम्पर्कबाट टाढा रहन आग्रह गरेका छन्। फलफूल राम्ररी पखालेर मात्र खाने, चमेराले छोएको आशंका भएको फलफूल प्रयोग नगर्ने, खाना राम्ररी पकाएर खाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र भीडभाडमा मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

स्वास्थ्य मन्त्रालयले निपाह भाइरसको जोखिमलाई लिएर आम नागरिकलाई नआतिन तर सतर्क रहन आग्रह गरेको छ। समयमै जानकारी, सावधानी र सरकारी संयन्त्रबीचको समन्वयबाट सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने मन्त्रालयको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *