बर्दिया, १५ माघ — बारबर्दिया नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरको चार कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी गरिदिने भन्दै घुस लिएको अभियोगमा एक इन्जिनियर पक्राउ परेका छन्।
बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले सेवाग्राहीसँग रु. १ लाख ५० हजार घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको हो।
अख्तियारको बुटवल कार्यालयअन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले इन्जिनियर मल्ललाई सेवाग्राहीबाट घुसको रकम लिइसकेको अवस्थामा बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार मिति २०८२ साल माघ १५ गते रु. १,५०,००० (एक लाख पचास हजार रुपैयाँ) घुससहित उनलाई रंगेहात पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

