समता खवर सम्बादाता ।
राजविराज,९ कार्तिक । सप्तरीको छिन्नमास्ता गाउँपालिकाबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले पिकअप गाडीमा लुकाइ छिपाइ लैजान लागिएको ठुलो परिमाणको लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पिकअप गाडिका चालक राजबिराज नगरपालिका ११का २९ बर्षिय राम कुमार यादब रहेका छन् ।
बुधबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यलय राजबिराज र ईलाका प्रहरी कार्यलय सखडाको संयुक्त टोलीले छिन्नमस्ता गाउँपालिका–४ स्थित ललापट्टी टोलबाट लागु औषध लोड गरिएको पिकअप सहित गाडीको चालकलाइ पक्राउ गरिएको हो ।
प्रहरीको टोलीले सवारी चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको सो पिकअप गाडी शंकास्पद देखिए पछि रोक्न लगाई जाँच गर्दा पिकअप गाडी भित्र प्लास्टिकमा प्याक गरी राखिएका ३२ पोका लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । बारमद गरिएका ३२ पोकालाई तौल गर्दा ८ क्विन्टल ३२ किलो रहेको जिल्ला प्रहरी कार्यालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले बरामद गरिएको गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जनाएको छ । उनले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी कडा बनाइएको समेत जानकारी दिएका छन् ।